November 28, 2021

Halkhabar kura

Entertainment Site

भक्तपुरको क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना सरकारको प्रशंशा गर्दै घर फर्किए

1 min read

काठमाडौं । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिएका १ सय ७५ जना नेपाली विद्यार्थीहरु स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन् ।
दोस्रो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइनबाट उनीहरु सोमबार नै घर फर्किएका हुन् । आज दिउँसो ४ बजे स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको हो ।

भक्तपुरको खरिपाटीमा दुई सातासम्म उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले क्वारेन्टाइनमा रहेका सबैको स्वाब रिपोर्ट नेगेटिभ आएका कारण उनीहरु क्वारेन्टाइबाट घर फर्काइएको बताउनुभयो ।  घर फर्किने क्रममा उनीहरु निकै खुशी बनेका थिए । उनीहरुले चीनबाट उद्धार गरेर ल्याउनुका साथै क्वारेन्टाइनमा राम्रो सुविधाका साथ राखिएको भन्दै सरकारको प्रशंशा समेत गरेका छन् ।

यता, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गरेको छ ।  अर्को व्यवस्था नभएसम्म पास वितरण बन्द गरिएको विमानस्थलका महाप्रवन्धक दवेन्द्र केसीले जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनु पर्ने भएकाले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास बन्द गरिएको उहाँले जानकारी दिनुभयो । विमानस्थल कार्यालयले अब विमानस्थल क्षेत्रभित्र अत्यावश्यक काम नपरेसम्म नआउन सर्वसाधारणलाई आह्वान समेत गरेको छ ।

यात्रुलाई ल्याउन र र्पुयाउन आउने मानिसले समेत अनिवार्य मास्क लगाउनु पर्ने नियम ल्याइएको महाप्रवन्धक केसीले उल्लेख गर्नुभयो । यस्तै, कोरोना भाइरसको संक्रमणको त्रासका कारण प्रदेश ५ सरकारले वैशाखमा गर्न लागेको लगानी सम्मेलन स्थगित गरेको छ ।

सम्मेलनमा विदेशी लगानीकर्ता पनि सहभागी गराउनुपर्ने भएकाले अन्तर्रा्ष्ट्रिय परिवेशअनुसार सतर्कता अपनाउन आज बसेको मन्त्रिपरिषद बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

सम्मेलनसँगै प्रदेश ५ का १२ वटै जिल्लामा हुने मेला महोत्सव पनि अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्न प्रदेश सरकारले निर्देशन दिएको छ ।

बैठकले लगानी सम्मेलन, मेला, महोत्सवसँगै धेरै जना भेला हुने कार्यक्रममा समेत प्रमुख जिल्ला अधिकारीमार्फत रोक लगाउने निर्णय गरेको हो ।
वैशाख ४ र ५ गते हुने सम्मेलनमा पनि विदेशीको सहभागिता हुने भएकाले तत्कालका लागि स्थगित गर्नु परेको सरकारका प्रवक्ता एवं भौतिक योजना मन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.